Tuesday July 14, 2020  |    | 

नेपाली पुरूषसँग विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने पक्षमा नेकपा

khalipati - 2020 Jun 20 07:20 PM
IMG
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ ।

शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो ।

विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग भने अस्वीकृत भएको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘नागरिकता विधेयकको कतिपय प्रावधानका बारेमा छलफल भयो । ‘जसअनुसार नेपाली पुरूष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगिकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालियो। विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक नागरिकता पाउनु उपर्युक्त हुने निर्णय भयो ।’

नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिए । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनाएको थियो ।